पोखरामा एक हप्ते अक्युपञ्चर शिविर सुरु
पोखरा, १० चैत्र
नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाको आयोजनामा शनिवार देखि पोखरामा एक हप्ते अक्युपञ्चर शिविर सुरु भएको छ ।
शिविरको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका मेडिकल सुपरिटेन्डेन्ट डा. बुद्धि बहादुर थापाले उद्घाटन गरे । सो अवसरमा बोल्दै डा.थापाले रेडक्रस कास्कीले स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रम गरेको बताउदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।
नेपाल रेडक्रस सोसाइटी काठमाडौ जिल्ला शाखा एवं एमोगीनोकाई जापानको प्राविधिक सहयोगमा कास्की शाखाको प्राङगण सृजनाचोकमा शिविर सुरु भएको हो । शिविरमा विरामीहरुले दर्ता शुल्क वापत ५० रुपैया र फलो अपका लागि २० रुपैया तिर्नु पर्नेछ ।
चैत्र १६ गते सम्म सञ्चालन हुने शिविरमा हाडजोर्नी दुखाई, प्यारालाइसीस, मुख बाङ्गिने, हातखुट्टा झमझमाउने, कम्मरको नसा च्यापीएको, घुंडाको दुखाई, हड्डी खिईएको, महिनावारी गडवडी सम्बन्धी रोगको विशेष उपचार सन्चालन हुने रेडक्रस कास्कीका उपसभापति एवम् स्वास्थ्य उपसमितिका संयोजक शिवप्रसाद कोइरालाले जानकारी दिए ।
शिविरमा जापानीज डाक्टर मिनाय हाताको नेतृत्वमा २० जना र रेडक्रसका स्वयमसेवकहरु ४० गरि ६० जनाले विरामीलाई अक्युपञ्चरमा सघाएका छन् । पहिलो दिनमा १ सय १६ जना विरामीको उपचार गरिएको छ । यस मध्य महिला ६१ जना र पुरुष ५५ जना रहेका छन् । रेडक्रसकै आयोजनामा अघिल्लो वर्ष पनि शिविर सन्चालन भएको थियो ।
नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाका सभापति रामप्रसाद ज्ञवालीको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा उपसभाति शिवप्रसाद कोइराला, उपमन्त्री कृष्ण तिमिल्सीना लगायतले बोलेका थिए ।
No comments:
Post a Comment