Thursday, April 11, 2013


फेवा नव वर्ष महोत्सव सुरु,
विमानस्थलका लागि जग्गा प्रदान गर्न आग्रह

पोखरा, २९ चैत

पोखराको बसुन्धरा पार्कमा दशौं फेवा नववर्ष महोत्सव विहिवारबाट सुरु भएको छ । पर्यटन तथा नागरिक उड्डयन सचिव सुशिल घिमिरेले महोत्सवको उद्घाटन गर्दै पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि थप जग्गा अधिग्रहण गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।

उहाँले राजनीतिक दल, जनप्रतिनिधि र स्थानीयवासीलाई जग्गा अधिग्रहणका लागि सघाउन आग्रह गर्नु भयो । जग्गा अधिग्रहणका सन्दर्भमा व्यवहारिकतालाई बुझिदिन स्थानीय जग्गा धनीहरुसँग आग्रह गर्दै उहाँले जग्गाधनीहरु व्यवहारिकता भन्दा बाहिर गए सरकार अप्रिय निर्णय लिएर भए पनि जग्गा अधिग्रहण गरी विमानस्थल बनाउन बाध्य हुने बताउनु भयो ।

नेपाल आउने पर्यटकको बसाई अवधि लम्ब्याउने तर्फ समेत सरकारले नयाँ कार्यक्रमहरु ल्याउने जानकारी उहाँले दिनुभयो । त्यस अघि आगामी तीन चार हप्ता भित्र नेपाल पर्यटन बोर्डले नयाँ प्रमुख कार्यकारी अधिकृत पाउने दावी समेत उहाँले गर्नुभयो । नेपालको पर्यटनका लागि सबैभन्दा घातक पक्ष बन्द, चक्काजाम र हड्ताल जस्ता कार्यक्रम भएको बताउँदै उहाँले त्यस्ता कार्यक्रम नगर्न सम्वन्धित पक्षसँग आग्रह गर्नुभयो । फेवा तालको संरक्षणको लागि स्थानीयवासी नै बढी सक्रिय हुनुपर्ने भनाई उहाँले राख्नुभयो ।

महोत्सव उद्घाटन अघि विभिन्न आमा समूह, जातजातिको झाँकी र सांस्कृतिक ¥याली सहित स्थानीय खहरेचोकबाट निस्केको ¥याली करिव तीन किलोमिटर दक्षिणको बसुन्धरा पार्कमा पुगी उद्घाटन कार्यक्रममा परिणत भएको थियो । पर्यटन, संस्कृति र खानालाई मुख्य केन्द्रमा राखी आयोजित महोत्सवले फेवातालको संरक्षणमा टेवा पु¥याउने प्रमुख उद्धेश्य लिएको महोत्सवका संयोजक विकल तुलाचनले जानकारी दिनुभयो ।

वैशाख दुई गते सम्म चल्ने महोत्सवमा आन्तरिक पाहुनालाई लक्षित गरी संघले आवासमा ३० प्रतिशत र खानामा १० प्रतिशत छुटको व्यवस्था गरेको संघका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले जानकारी दिनु भयो । महोत्सवमा १५ वटा खानाका स्टल र ४५ वटा अन्य विभिन्न खालका पर्यटन, कृषि, संस्कृति एवं व्यापारिक स्टलहरु रहेको छ ।


कार्यक्रममा बोल्दै पूर्व सभासद राजकाजी गुरुङले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बने बढी भन्दा बढी विदेशी पर्यटक पोखरा भित्र्याउन सहज हुने र देशको अर्थतन्त्रलाई समेत सकारात्मक टेवा पुग्ने भनाई राख्नुभयो । अर्का पूर्व सभासद रविन्द्र अधिकारीले लोडसेडिङका कारण पर्यटन लगायत अन्य क्षेत्रले अहिले ठूलो समस्या भोग्नुपरेको बताउँदै यसलाई समाधान गर्नेतर्फ सरकार र जनता सबैको उत्तिकै पहल जरुरी पर्ने भनाई राख्नुभयो ।

नेपाल पर्यटन वोर्डका सदस्य टिकाराम सापकोटाले लेकसाइडलाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्ने माग गर्नुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष सूर्यवहादुर भुजेलले पर्यटनलाई उद्योगको मान्यता प्रदान गरी सोही अनुसारका सेवा सुविधा उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो । कास्कीका सहायाक प्रमुख जिल्ला अधिकारी अन्तरवहादुर सिलवालले सांस्कृतिक पक्षका कारण फेवा महोत्सव अन्य भन्दा फरक महोत्सव रहेको बताउनुभयो ।

महोत्सवमा देशविदेशका खाना, बैंकहरुका स्टल, दोहोरी गीत र कन्सर्ट, डुंगा दौड, पर्यटक दौड, वाल उद्यान जस्ता पक्षहरु समेटिएको संघका महासचिव लक्ष्मण सुवेदीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment