Monday, April 1, 2013

काठमाडौंमा प्रतीक्षाको एकल वाचन हुने चैत्र १९ कवि सरस्वती प्रतीक्षाको एकल कविता वाचन कार्यक्रम आउँदो चैत्र २४ गते शनिबार काठमाडौंमा हुने भएको छ । काठमाडौंको अनामनगर स्थित मण्डला थिएटरमा हुन लागिरहेको उक्त कार्यक्रममा प्रतीक्षाले आफ्ना दुई दर्जन प्रतिनिधि कविता वाचन गर्ने जनाइएको छ । यस अघि पोखरामा एकल वाचन कार्यक्रम सम्पन्न गरिसकेकी प्रतीक्षाको यो दोस्रो एकल वाचनको कार्यक्रम हो ।
सरस्वती प्रतीक्षा युवा पुस्ताकी चर्चित कवि हुन् । कलात्मक विद्रोह गरी विसङ्गतिबाट मुक्तिको खोजी गर्नु र जीवनको किनार समाउनु नै उनको काव्यिक विशेषता हो । साङ्ग्रिला बुक्स तथा एभरग्रिन क्रियशनको आयोजनामा हुन लागि रहेको उक्त एकल वाचन कार्यक्रममा उनको नयाँ कविता सङ्ग्रह ‘बागी सारङ्गी’ पनि विमोचन हुने बताइएको छ । पुस्तकको प्रकाशक साङ्ग्रिला बुक्स रहेको छ । यस अघि उनका दुई कविता सङ्ग्रह यद्यपि प्रश्नहरु (२०६२) र बिम्बहरुको कठघरा (२०६६) प्रकाशित भइसकेका छन् । उनी संरक्षण कविता आन्दोलनकी एक अभियन्ता तथा हाल पोखरेली युवा सांस्कृतिक परिवारकी अध्यक्ष हुन् ।

No comments:

Post a Comment