Monday, April 1, 2013

आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार सम्बन्धी तालिम सम्पन्न कास्की । चैत १९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको आयोजनामा मानवअधिकार निगरानी समुहका सदस्यहरुका लागि आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार सम्बन्धी तालिम सोमबार पोखरामा सम्पन्न भयो । दुई दिनसम्म सञ्चालन भएको उक्त तालिममा मानवअधिकार निगरानी समुहका ३५ जनाको सहभागीता रहेको थियो । तालिममा पुनरावेदन अदालत पोखराका न्यायाधीश डिल्लीराज आचार्यले मानवअधिकार र जिम्मेवार निकायको जवाफदेहीताको बारेमा र राष्ट्रिय मानवअधिकार आयोग पश्चिमाञ्चल निमित्त निर्देशक यज्ञप्रसाद अधिकारीले आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार बारेमा सहजीकरण गरेका थिए । त्यसैगरी जिल्ला शिक्षा अधिकारी चन्द्रकान्त भुसालले शिक्षाको अधिकार र शिक्षा सम्बन्धी राज्यको नीति, योजना र कार्यक्रमको बारेमा सहजीकरण गरे भने वरिष्ठ जनस्वास्थ्य प्रशासक रमेशप्रसाद अधिकारीले स्वास्थ्यको अधिकार र स्वास्थ्य सम्बन्धी राज्यको नीति, योजना र कार्यक्रमको बारेमा सहजीकरण गरेका थिए ।
मानवअधिकार निगरानी समुहका जिल्ला अध्यक्ष कृष्णप्रसाद बरालले तालिमले जिम्मेवार निकायलाई जवाफदेही बनाउन मार्ग निर्देश गरेको भन्दै कार्ययोजना अनुरुप काम गर्नु पर्ने बताए । सिद्ध गाविसका सचिव मोहदत्त खनालले इन्सेकको कार्यक्रमप्रति आभार प्रकट गर्दै कार्यक्रमले नागरिकमा सचेतना बढाएको र समुदायमा काम गर्न प्रेरणा मिलेको बताए । मानवअधिकार निगरानी समुह सिद्धका अध्यक्ष अमृतबहादुर आचार्यले तालिममा अपेक्षा गरे अनुसार फलदायी भएको भन्दै तालिमका ज्ञान, सीप व्यवहारमा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे । इन्सेक पश्चिमाञ्चल क्षेत्रीय संयोजक शिव खकुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम इन्सेक पोखराका गणेश श्रेष्ठले सञ्चालन गरेका थिए ।

No comments:

Post a Comment