Wednesday, April 3, 2013

बेगनासमा दुर्घटना, दुईको मृत्यु, तीन बेपत्ता पोखरा, २१ चैत्र । एक्कासी आएको हावाहुरी सहितको बर्षाले कास्कीको बेगनास तालमा डुङ्गा पल्टाईदिदा ठुलो मानवीय क्षती भएको छ । दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । डुङ्गामा सवार ८ जना मध्ये एक जनाले मात्र लाइफ ज्याकेट लगाएका थिए । सोही लाइफ ज्याकेटमा अरु दुई जना झुण्डिदा तीन जनाको ज्यान बचेको छ । मृत्यु हुनेमा दुई बर्षिया इविना गुरुङ्ग र ३ बर्षीया अनुस्का गुरुङ्ग छन् । उनीहरुको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ । पानीमा डुबेर २४ बर्षीय प्रकाश गुरुङ्ग, २४ बर्षीय सुष्मा गुरुङ्ग र २८ बर्षीय पुष्पा गुरुङ बेपत्ता छन् । उनीहरुको खोजी भैरहेको छ । पिकनिक खाएर रमाइलो मनाउन गएका पोखरा उपमहानगर पालिका–१० रामबजार कालिकाका दुई परिवारमा यस्तो बिपत्ती आइरहेको हो । छोरा छोरीको परीक्षा सकिएर विदा परेको मौकामा उनीहरु रमाइलो गर्न बेगनास ताल गएका थिए ।
ड्राई पिकनिक गएका १२ जना मध्ये चार जना ताल पारी नै बसेर खाइरहेका थिए भने ८ जना डुङ्गा शयरमा निस्किएका थिए । उनीहरु तालको बिचमा पुगेको बेलामा एक्कासी हावाहुरी सहित पानी परेको थियो । हावाहुरीका कारण तालमा आएको छालले डुङ्गा पल्टाएको प्रत्यक्षदर्शीले बताए । एउटा लाईफ ज्याकेटमा झुण्डिएर बचेका ३० बर्षीय रिता गुरुङ, १३ बर्षीय सिमरन गुरुङ र ९ बर्षीय कुमार गुरुङ सकुशल छन् । उनीहरुलाई उद्दार गर्न गएको टोलीले बेहोश अवस्थामा तैरिरहेका इविना र अनुस्काको पनि उद्दार गरेका थिए । ती बालिकालाई तत्काल उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिए पनि अस्पतालले मृत घोषणा गरेको थियो । कास्की प्रहरीका अनुसार बेपत्ता तीन जनाको खोजी कार्य जारी छ ।

No comments:

Post a Comment