चुनाव गरेर देखाउन नेकपा माओवादीको चुनौती
काठमाडौं, चैत २४
नेकपा माओवादी अध्यक्ष मोहन वैद्य किरणले सक्ने भए आफूहरु बिनाको संविधानसभा चुनाव गरेर देखाउन प्रमुख दललाई चुनौती दिनुभएको छ ।
जनआन्दोलन दिवसको अवसरमा शनिबार काठमाडौंको खुलामञ्चमा भएको सभालाई सम्बोधन गर्दै वैद्यले विरोधका बीच हुने चुनाव असफल पारिदिने चेतावनी दिनुभयो ।
उहाँले प्रमुख दलले गरिरहेको संविधानसभा चुनावसम्भव नहुने र जबरजस्ती अघि बढे आफूहरु पनि दृढतापूवर्क विरोधमा उत्रिने बताउनुभयो ।
‘हामीलाई वार्तामा बोलाउने उच्चस्तरीय राजनीतिक समितिले हैसियत नै गुमाईसकेको छ । हैसियत नभएकासँग वार्ता हुन्न’ उहाँले भन्नुभयो, ‘खारेजीको माग गरिरहेको सरकारसँग पनि वार्ता गर्ने कुरै हुन्न ।’
प्रमुख दलहरुले प्रचण्ड र बाबुरामले भने जसरी सहीछाप गर्दै हिडिरहेको भन्दै किरणले कांग्रेस–एमालेलाई महंगो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभयो । उहाँले संविधानसभा भित्र र बाहिर रहेका सबै दलहरुलाई छलफलमा ल्याउने र राजनीतिक सरकार गठन गरेर अघि बढ्दा मात्रै निकास आउनेमा जोड दिनुभयो ।
कार्यक्रममा माओवादीका महासचिव रामबहादुर थापा बादलले आउँदो नयाँ वर्षलाई निर्णायक वर्ष बनाउने घोषणा गर्नुभयो । अहिले जाति, लिंग र क्षेत्रको नाममा लड्ने भन्दा पनि राष्ट्रिय स्वाधिनताका लागि लड्ने बेला भएकोमा उहाँले जोड दिनुभयो ।
No comments:
Post a Comment